काठमाडौं । पछिल्लो समय निर्माणाधीन जलविद्युत आयोजनाहरुले वार्षिक ५ अर्ब रुपैयाँ हाराहारीको इन्धन खपत गर्दै आएको देखिएको छ ।
जलविद्युत आयोजनाहरुमा निर्माण सुरुदेखि अन्त्य नहुँदासम्म करिब ९९ प्रतिशत डिजेल मात्रै खपत गर्ने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।
हाइड्रोपावरको निर्माण अवधिमा पर्याप्त परिमाणमा इन्धनको खपत हुने इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी बताउँछन् । उनकाअनुसार हाइड्रोपावर आयोजना सुरु भएर सम्पन्न नहुँदासम्म डिजेलको अत्याधिक खपत हुन्छ ।
निर्माणस्थलमा स्काइभेटर, लोडर, अनलोडर, टिपर, जेनरेटरसहित अन्य विविध सवारी साधन सञ्चालन गर्न करिब ९९ प्रतिशत डिजेलको प्रयोग हुने गरेको उनले बताए ।
पछिल्लो केहि समय नियमित बिजुली आपूर्ति भएका कारण उद्योग, कलकारखाना, अस्पताललगायतमा खपत हुने डिजेलको परिमाण घटे पनि हाइड्रोपावर आयोजनामा भने यसको खपत बढ्दै गएको हो ।
‘डिजेलको उपयोग बिना हाइड्रोपावर आयोजना अघि नै बढाउन सक्दैनौं, हाइड्रोपावर निर्माण हुने स्थानमा बिजुली पुगेको हुँदैन । त्यसैले २४ सैं घण्टा बिजुली आवश्यक पर्छ,’ डाँगीले भने, ‘त्यसका लागि एउटा निर्माणस्थलमा २ मेगावाट क्षमताको जेनरेटनर २४ सैं घण्टा सञ्चालन गर्नुपर्छ ।’
यसबाहेक निर्माणसम्बन्धी विभिन्न प्रकारका यान्त्रिक उपकरण, टिपर र सवारी साधन पनि सञ्चालन गर्नुपने भएकाले ती सबैले इन्धनको रुपमा डिजेल नै खपत गर्ने उनी बताउँछन् ।
नेपाल विद्युत प्राधिकरणका अनुसार १ मेगावाट क्षमताको हाइड्रोपावर आयोजनाले एक वर्षमा औषत करिब २० लाख रुपैयाँ बराबरको इन्धन खपत गर्छ ।
सामान्यतया एउटा हाइड्रोपावर आयोजना सम्पन्न हुन ५ वर्ष लाग्ने अनुमान गर्ने हो भने १ मेगावाट क्षमताको उर्जा उत्पादन गर्न निर्माण हुने हाइड्रोपावर आयोजनाले ५ वर्षमा करिब १ करोड रुपैयाँ बराबरको इन्धन खपत गर्ने देखिन्छ ।
हाल सरकारी र निजी क्षेत्रको लगानीमा सोलार पावरवाहेक ६ प्रदेशमा २ हजार ७ सय ५० मेगावाट क्षमताका दर्जनौं हाइड्रोपावर आयोजनाहरु निर्माणाधीन छन् ।
इप्पानकाअनुसार ती आयोजनाहरु सम्पन्न गर्न ५ वर्षमा २७ अर्ब ५० करोड ४४ लाख ५० हजार रुपैयाँ बराबरको इन्धन खर्च हुने देखिन्छ ।
एक वर्षमा यी आयोजनाहरुले करिब ५ अर्ब ५० करोड ८ लाख ९० हजार रुपैयाँ डिजेलमा खर्च गर्दैआएका छन् ।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानकाअनुसार हाइड्रोपावर आयोजनामा भने यसको खपत बढेको छ । ’ पछिल्लो समयमा पम्पहरुबाट सार्वजनिक यातायातका सवारी साधनबाहेक हाइड्रोपावर आयोजनाहरुले ठूलो परिमाणमा डिजल खरिद गर्ने गरेका छन् ।’
हाइड्रोपावरले पनि डिजल खरिद नगरिदिने हो भने पम्पहरुको लगानी नै डुब्ने अवस्था सिर्जना हुने उनी बताउँछन् । क्लिकमान्डू
#जलविद्युत आयोजना #पेट्रोल पम्प #पेट्रोलियम
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal