October 4, 2024

नेपालका ठूला ऊर्जा आयोजनामा साढे ९ खर्ब रूपैयाँ लगानी

काठमाडौं । स्वदेशी तथा विदेशी लगानीकर्ताले नेपालको ऊर्जा क्षेत्रमा ९ खर्ब ३४ अर्ब रूपैयाँ लगानी गर्न लगानी बोर्डबाट स्वीकृति लिएका छन्।

बोर्डले १२ वर्षको अवधिमा विभिन्न २८ वटा जलविद्युत, सौर्यलगायत ऊर्जासम्बन्धी आयोजनामा लगानीका लागि स्वीकृति दिएको हो।

लगानी बोर्डले ६ अर्बभन्दा बढी लागत लाग्ने आयोजनाको हकमा लगानी स्वीकृत गर्दै आएको छ। त्योभन्दा कम लागतका आयोजनाको लगानी उद्योग विभागले स्वीकृत गर्छ।

बोर्डले अरूण तेस्रो, तल्लो अरूण, अपर कर्णालीलगायत ठूला आयोजनाका लागि लगानी स्वीकृत गरेको हो।

९०० मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजनाका लागि बोर्डले ६२ अर्ब २६ करोड लगानी स्वीकृत गरेको छ।

२१६ मेगावाटको अपर त्रिशूलीका लागि ७३ अर्ब १५ करोड, ३२७ मेगावाटको अपर मर्स्याङ्दी-२ का लागि ७८ अर्ब ३० करोड लगानी स्वीकृत भएको छ।

५० मेगावाटको मर्स्याङ्दी बेसी हाइड्रोका लागि ११ अर्ब ७७ करोड रूपैयाँ लगानी स्वीकृत भएको हो।

अपर त्रिशूली-३ का लागि आठ अर्ब २२ करोड, ४२.९ मेगावाटको आँखु खोलाका लागि ६ अर्ब ३० करोड लगानी स्वीकृत भएको छ।

म्याग्दी खोला हाइड्रोपावरका लागि १० अर्ब ३१ करोड, कालीगण्डकी गर्ज जलविद्युत आयोजनाका लागि २८ अर्ब ६ करोड, इसुवा खोला जलविद्युतका लागि १३ अर्ब ५७ करोड लगानी स्वीकृत भएको हो।

घुस्ना खोला हाइड्रोमा १७ अर्ब ६२ करोड स्वीकृत भएको छ। हिमचुली दोर्दी जलविद्युत आयोजनामा १० अर्ब ६१ करोड, दूध खोला हाइड्रोमा १० अर्ब ४३ करोड लगानी स्वीकृत भएको छ।

अपर तमोरमा २ अर्ब ८५ करोड, तल्लो मनाङ मर्स्याङ्दीमा ३३ अर्ब ४१ करोड, जुम खोला हाइड्रोमा १० अर्ब ५३ करोड लगानी स्वीकृत भएको हो।

तामाकोशी-५ का लागि १६ अर्ब ४५ करोड, राहुघाट ९ अर्ब ४७ करोड, तल्लो अरूण ९२ अर्ब ६८ करोड,  अपर मर्स्याङ्दी ३३ अर्ब १९ करोड, दूधकोशी-२ का लागि २० अर्ब ३५ करोड लगानी स्वीकृत भएको छ।

त्यस्तै सिम्बुवा खोलाका लागि १३ अर्ब ४४ करोड, अपर मादी सात अर्ब ९३ करोड, रोलवालिङ खोला सात अर्ब ९२ करोड, चुजुङ खोला ९ अर्ब ३० करोड, दङ्गा खोलाका लागि ९ अर्ब ६८ करोड लगानी स्वीकृत छ।

बोर्डले सानीभेरीका लागि ९ अर्ब ४६ करोड, अपर कर्णालीका लागि एक खर्ब ६२ अर्ब ४९ करोड र ग्रिड कनेक्टेड सोलार (२४५ ब्याट्री स्टोरेज)का लागि २१ अर्ब ६० करोड लगानी स्वीकृत गरेको छ।

बोर्डले स्वीकृत गरेको सबै लगानी परिचालन भने आधाभन्दा कम छ। बोर्डले १२ वर्षमा ऊर्जा क्षेत्रका २८ समेत अन्य विभिन्न क्षेत्रमा गरी कुल ४२ आयोजनामा १२ खर्ब ५० अर्ब बढी लगानी स्वीकृत गरेको छ।  सेतोपाटी

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand