काठमाडौं । नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य ८ रुपैयाँ ७२ पैसा प्रस्ताव गरेको छ । यो दर भारतलाई बिक्री गरेकै दर सरह हो ।
बंगलादेशले भारतीय विद्युत् प्रणाली हुँदै नेपालबाट ४० मेगावाट बिजुली लिने सहमति भएपछि उसले कारोबार हुने दर प्रस्ताव गर्न आग्रह गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार कम्पनी एनभीभीएनबीच त्रिपक्षीय विद्युत् खरिद सम्झौता (पीपीए) को मस्यौदामा सहमति जुटिसकेको छ । पीपीएको उक्त मस्यौदालाई इमेलबाट सबैले सहमति जनाएको तर हस्ताक्षर हुन बाँकी रहेको ऊर्जा मन्त्रालय स्रोतको भनाइ छ ।
गत नोभेम्बर (२०२३) बंगलादेशको अर्थमन्त्री अध्यक्ष रहने मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले नेपालबाट बिजुली आयात गर्नेबारे छिट्टै निर्णय लिने ढाकास्थित नेपाली दूतावासले ऊर्जा मन्त्रालयलाई पत्र लेखी जानकारी गराएको थियो ।
नेपाली दूतावासले बंगलादेशको वरिष्ठ सचिवलाई उद्धृत गर्दै गत नोभेम्बरको पहिलो साता ऊर्जा मन्त्रालयलाई जानकारी गराएको हो । दूतावासको पत्रानुसार नै नेपाल विद्युत् प्राधिकरणले आफ्ना अधिकारी पठाएर गत डिसेम्बरमा बिड डकुमेन्ट बंगलादेशमा पेश गरेको ऊर्जा मन्त्रालय स्रोतले बतायो ।
प्राधिकरणका सम्बद्ध अधिकारी ढाका गएर उक्त टेण्डर दर्ता गराएर फर्केका थिए । सोही टेण्डरमा प्राधिकरणले बंगलादेशलाई प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (अमेरिकी डलरमा ६.७ सेन्ट्स) विक्री गर्ने प्रस्ताव पेश गरेको स्रोतले जानकारी दियो ।
मन्त्रालयले भने यो दरलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यो दरलाई भारतीय रुपैयामा परिवत्र्य गरी हेर्दा प्रतियुनिट ५ रुपैयाँ ७५ पैसा पर्न पाउँछ ।
नेपाल र बंगलादेशबीच कारोबार हुने ४० मेगावाट बिजुलीको भाउ (विद्युत खरिद सम्झौता) दर तय गर्न दुई देशका अधिकारीबीच बंगलादेशको राजधानी ढाकामा बैठक बस्ने भएको छ ।
बैठकमा सहभागी हुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आगामी बुधबार ढाका प्रस्थान गर्ने छन् ।
नेपाल र बंगलादेशबीच पीपीएमा हस्ताक्षर भएमा आगामी वर्षायामदेखि नेपालले भारतको बहरामपुर र बंगलादेशको भेरमारा प्रसारण लाइनमार्फत ४० मेगावाट बिजुली निर्यात गर्नेछ ।
स्रोत : जल सरोकार
#नेपाल बंगलादेश विद्युत व्यापार
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal