April 17, 2024

३४० मेगावाटको बुढीगण्डकी अर्धजलाशय आयोजनाको PPA मा सार्वजनिक सुनुवाइ हुँदै

काठमाडौं। गोरखामा निर्माण हुने ३४०.४२३ मेगावाटको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (PPA) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई हुने भएको छ ।

त्यसका लागि विद्युत् नियमन आयोगले यहि चैत २० गते (मंगलवार) सार्वजनिक सुनुवाई आयोजना गरेको छ ।

टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित आयोजनाको पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणले आयोग समक्ष पेस गरेको निवेदन उपर छलफल गर्ने तयारी भइरहेको आयोगले जानकारी दिएको छ । सार्वजनिक सुनुवाई विद्युत् विकास विभागको सभाहलमा हुनेछ ।

यो आयोजना गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ । आयोजना सम्पन्न गर्न ५५ अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका अधारमा आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ अनुमान गरिएको छ ।

यो आयोजना पिकिङ रन अफ रिभर (PRoR) प्रकारको हो । आयोजनाको बाँधस्थल र जलाशय चुमनब्री गाउँपालिका रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्र बाहिर पर्दछन् ।

यो आयोजनाको जलाधार क्षेत्रफल ३६२८ वर्ग किलोमिटर रहने गरी डिजाइन गरिएको छ । आयोजनामा ५.८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ । टनेलमार्फत पानीलाई भूमिगत विद्युत्‌गृहमा पुर्‍याइनेछ । विद्युत्‌गृहमा ६ वटा ५७ मेगावाट क्षमताका टवाईन जडान हुनेछन् ।

५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक १८३७.१६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । उत्पादित ऊर्जालाई ४५ किमि २२० केभी प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको विभिन्न संरचना निर्माणका लागि ५६.२२ हेक्टर जमिन चाहिने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ४९.६२ हेक्टर स्थायी रूपमा र ६.६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्ने देखिएको छ ।

स्रोत : ऊर्जा खबर

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand