काठमाडौँ । बझाङमा निर्माण हुने २१६ मेगावाटको बझाङ माथिल्लो सेती अर्धजलाशययुक्त (PRoR) जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) रिपोर्ट तयार भएको छ ।
आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले इआइए प्रतिवेदन तयार गरी स्वीकृतिका लागि विद्युत् विकास विभागमा पेश गरेको छ ।
विभागले ऊर्जा मन्त्रालयमार्फत उक्त इआइए प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातारण मन्त्रालयमा पठाएको छ । वातावरण मन्त्रालयले हाल उक्त इआइएमाथि सरोकारवालाहरूबाट राय सुझाव माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ । इआइए प्रतिवेदन स्वीकृत भएपछि प्रवर्द्धक कम्पनीले आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गर्ने छ ।
कम्पनीले आयोजनाको सर्वेक्षण अनुमति पत्र भने २०७५ साउन १५ गते प्राप्त गरेको थियो । सर्वेक्षण सकेर कम्पनीले २०८० साउन १२ गते उत्पादन अनुमति पत्रका लागि विभागमा आवेदन दिएको थियो ।
सतही विद्युत्गृह रहने आयोजनामा ५५.७ मेगावाट क्षमताका ४ वटा उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ । दैनिक ४.५ घण्टा पिकिङ क्षमता भएको आयोजनाले वार्षिक १२२९ गिगावाट आवर इनर्जी उत्पादन गर्ने छ । आयोजनाको विद्युत् १२६ किलोमिटर टाढा कैलालीको लम्की सबस्टेशनमा जोडिने छ ।
निर्माण सुरु गरेको ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत ४४ अर्ब ५१ करोड ६० लाख (प्रतिमेगावाट २० करोड ६० लाख) रुपैयाँ हुने अनुमान गरिएको छ ।
#बझाङ माथिल्लो सेती #शैलेन्द्र गुरागाईं #समृद्धि इनर्जी लिमिटेड
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal