September 9, 2024

भारतले विस्फोटक पदार्थ रोक्दा दर्जन बढी जलविद्युत आयोजनाको निर्माण रोकिँदै

काठमाडौं– भारतले ६ महिनादेखि विस्फोटक पदार्थको आपूर्तिमा रोक लगाएपछि नेपालमा निर्माणाधीन दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरुको काम रोकिने भएको छ ।

चीन जोडिएका जलविद्युत् आयोजनामा भारतीय विस्फोटक पदार्थ आपूर्ति भयो भन्ने आशंकमा भारतले ६ महिनादेखि विस्फोटक पदार्थ आपूर्तिका लागि ‘नो अब्जेक्सन अर्डर- एनओसी’ (अनुमति) दिन बन्द गरेको हो ।

निर्माण भइरहेका आयोजनाहरुमा विस्फोटक पदार्थ अभावका कारण कामै रोकिने अवस्था आइसक्दा पनि सरकारले भने केही थाहा नपाएजस्तो गरी बसेको ऊर्जा उत्पादकहरुले आरोप लगाएका छन् ।

नेपालमा चिनियाँ कम्पनीले निर्माण गरेका, चिनियाँ ठेकेदार सामेल भएका, चिनियाँ यन्त्र/उपकरण उपयोग गरेका जलविद्युत आयोजनाहरुमा विस्फोटक पदार्थ ठ्याम्मै नदिने नीति भारतले लिएको हो ।

भारतले चिनियाँ कम्पनीलाई लक्षित गर्दै विस्फोटक पदार्थमा रोक लगाए पनि ती कम्पनीले निर्माण गरेका आयोजनाहरुमा यसको कुनै असर र प्रभाव भने परेको छैन । नेपाली जलविद्युत् प्रवर्द्वक र पूर्ण रुपमा नेपाली लगानीमा निर्माण भइरहेका आयोजनाहरु भने यसबाट सबैभन्दा बढी मारमा परेका छन् ।

रामेछापमा ५७.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको भिजन इनर्जी एण्ड पावर लिमिटेडका अध्यक्ष टीएन आचार्यले एक महिना आयोजना निर्माण कार्य बन्द हुँदा १ अर्ब भन्दा बढी नोक्सान हुने बताए । उनका अनुसार १ महिना काम रोकिदा ४ महिना प्रभाव पर्ने र चार महिनाको ब्याज ७२ करोड र बिजुली उत्पादन आम्दानी ६० करोड रुपैयाँ नोक्सान पर्नेछ ।

भारतीय दुृतावासले विगत ६ महिनादेखि कुनै पनि आयोजनाका लागि विस्फोटक पदार्थ आयात गर्न अनुमति नदिएको ब्रम्हायणी हाइड्रोपावरका अध्यक्ष एवं स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का सदस्य भरत पराजुलीले बताए ।

‘चिनियाँ कम्पनीहरु कार्यरत दक्षिण अफ्रिकी मुलुकका विभिन्न आयोजनामा भारतले विस्फोटक पदार्थ निर्यात गरिरहेको छ,’ पराजुलीले भने, ‘यसबाट भारतले चीनलाई पेलेको होइन, नेपालीलाई हो भन्ने देखिन्छ ।’

विस्फोटक पदार्थ अभावमा बन्द हुन लागेका आयोजनाहरु

तनहुँ हाइड्रो (सोङ्दा–कालिका जेभीतर्फको खण्ड)

मध्य मेवा (७३ मेगावाट)

खिम्ती–२ (४८ मेगावाट)

शिवा खोला (२१ मेगावाट)

माथिल्लो तमोर (२८५ मेगावाट)

तमोर–५ (२१ मेगावाट)

सेती खोला (२२ मेगावाट)

आँखु खोला (४३ मेगावाट)

सीता हाइड्रो (३२ मेगावाट)

लिपिङ खोला (१६ मेगावाट) लगायत ।

स्रोत : Jalsarokar.com

# # # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand