September 9, 2024

माथिल्लो तामाकोशीका लगानीकर्तालाई राहत : पीपीए दर बृद्धि हुने

काठमाडौँ । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले निर्माण गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झाैता (PPA) पुनरावलोकन हुने भएको छ ।

जिल्ला समन्वय समिति दोलखाले २ साताअघि काठमाडौँमा आयोजना गरेको ‘दोलखाका जलविद्युत् आयोजनाहरूबाट प्राप्त अवसर, समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको निर्णय कार्यान्वयन गर्न बुझाएको पत्र बुझ्दै ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले पिपिए पुनरावलोकन हुने बताएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीसहित पूर्व मन्त्री खड्का लगायत पुगेका थिए ।

नेपाल विद्युत् प्राधिकरणसँग पिपिए गरेका अन्य जलविद्युत् आयोजनाहरूको बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ रहे पनि माथिल्लो तामाकोसीमा भने बर्खामा ३ रुपैयाँ र हिउँदमा ४ रुपैयाँ मात्रै रहेको छ ।

माथिल्लो तामाकोसीको पिपिए कम भएकै कारण आम्दानी कम देखिँदा आयोजना पूरा भएको ३ वर्ष पुगिसक्दासमेत सेयर लगानीकर्ताको हात खाली छ । ४५६ मेगावाटको स्वदेशी लगानीमा बनेको सबैभन्दा ठूलो जलविद्युत् आयोजनामा ८ लाख बढी सर्वसाधारणको सेयर लगानी छ ।

खिम्ती–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक हिमाल पावर लिमिटेड र सरकारको संयुक्त रूपमा बन्ने कम्पनीमा दोलखा र रामेछापबासीका लागि पनि सेयर सुनिश्चित हुने भएको छ ।संयुक्त कम्पनी बन्दा स्थानीयको २० प्रतिशत सेयर सुनिश्चित गर्न माग गरिएको थियो ।

हिमाल पावर लिमिटेडसँग डलरमा गरिएको पिपिएको अवधि ४ वर्षअघि नै सकिएको छ । अब खिम्ती–१ को ५० प्रतिशत स्वामित्व सरकारको नाममा आउँछ ।

स्रोत : ऊर्जा खबर

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand