September 9, 2024

पश्चिम सेतीको विद्युत प्रवाहका लागि ग्रिड कनेक्सन सम्झौता, ११०० मेगावाटका लागि प्रसारणलाइन बनाउँदै RPGCL

काठमाडौं । भारतको एनएचपीसी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (RPGCL)बीच ग्रिड कनेक्सन सम्झौता भएको छ ।

७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि यो सम्झौता गरिएको हो ।

सम्झौतामा एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्याय र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

एनएचपीसीले सेती करिडोरमा ७ सय ५० मेगावाटको पश्चिम सेतीसहित १ हजार ६ सय ८० मेगावाट क्षमताका आयोजनाको अनुमातिपत्र लिएको छ । अब प्रसारण ग्रिड कम्पनीले बनाउने प्रसारण लाइन एनएचपीसीले प्रयोग गर्न पाउने छ ।

बझाङको प्रस्तावित चैनपुर सबस्टेसनबाट डोटी पश्चिम सेती सबस्टेसन (६० किलोमिटर), पश्चिम सेती सबस्टेसन हुँदै कैलाली दोदोधारा सबस्टेसनसम्म (८५ किलोमिटर) तथा पश्चिम सेती सबस्टेसनदेखि कञ्चनपुर दैजीस्थित न्यु–अत्तरिया सबस्टेसनसम्म (६८ किलोमिटर) ४०० केभीको करिब २ सय १३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने लक्ष्य परियोजनाको रहेको छ । यसको लागत २० अरब रुपैयाँ अनुमान गरिएको छ । यसका लागि भारतीय एक्जिम बैंक बाट ऋण लिने योजना समेत अघि सारिएको छ ।

यो प्रसारण लाइन अन्तर्गत चैनपुर सबस्टेसनमा चैनपुर सेती जलविद्युत् आयोजना (२ सय १० मेगावाट), बझाङ अप्पर सेती जलविद्युत् आयोजना (२ सय १६ मेगावाट), सेती नदी–३ जलविद्युत् आयोजना (८६ मेगावाट), सुनिगाढ जलविद्युत् आयोजना (२५ मेगावाट), सनस्टार जलविद्युत् आयोजना (४६ मेगावाट), बडीमालिका जलविद्युत् आयोजना (६० मेगावाट), न्यादी जलविद्युत् आयोजना (६० मेगावाट) र मालुमेला–सेती नदी पिआरओआर जलविद्युत् आयोजना (६४ मेगावाट) तथा पश्चिम सेती सबस्टेसनमा पश्चिम सेती जलविद्युत् आयोजना (७ सय ५० मेगावाट) र बलाँच हबमा (३ सय मेगावाट) विद्युत् उत्पादन जम्मा भई कैलाली दोदोधारामा निर्माण हुने सबस्टेसनमा कुल १ हजार ८ सय २७ मेगावाट प्राप्त गर्ने योजना छ ।

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand