September 9, 2024

निजी क्षेत्रबाट निर्माण हुने अहिलेसम्मकै ठूलो २८५ मेगावाटको जलविद्युत आयोजनामा लगानी जुट्यो

काठमाडौं । निजी क्षेत्रबाट निर्माण हुन गइरहेको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजनामा लगानी जुटेको छ ।

तमोर इनर्जीले प्रवर्द्धन गरेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर अर्धजलाशययुक्त जलविद्युत आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा लगानी जुटेको हो ।

एभरेष्ट बैंकको नेतृत्वमा बैंकहरूले ३८ अर्ब रुपैयाँ लगानी गर्ने छन् । ५५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनमा २२ अर्ब इक्विटी लगानी हुँदै छ भने ४ अर्ब हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले ऋण लगानी गर्दैछ। एचआईडीसीएलले अहिलेसम्मकै ठूलो ऋण लगानी माथिल्लो तमोरमा गर्न लागेको हो ।

नेपालमा निजी क्षेत्रले ठूला जलविद्युतमा लगानी गर्न सक्दैनन् भन्ने चर्चाकाबीच माथिल्लो तमोरमा ठूलो लगानी हुन लागेको हो। अबको केही महिनाभित्रै आयोजना निर्माण सुरु हुने जनाइएको छ।

ताप्लेजुङको तापेथोकमा बन्ने आयोजनाको मेजर प्रोजेक्टको आउट लेट ताङलुङ गाउँपालिकामा पर्छ भने पावर हाउस फुङलिङ नगरपालिकामा पर्छ।

निर्माण सुरु भएको ६ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको माथिल्लो तमोर आयोजनाको व्यापारिक उत्पादन २०८५ जेठ १९ गतेबाट गर्ने योजना रहेको थियो। अब २०८६ सम्ममा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।

आयोजनाको जेनेरेसन लाइसेन्स क्षमता २८५ मेगावाट रहेको छ । पीपीए २५५.२८१ मेगावाटको लागि रहेको छ। वार्षिक १४७९.८७ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । यस आयोजनाले बर्सेनि कुल १ अर्ब ४७ करोड ९८ लाख ७७ हजार ९ सय ३९ किलोवाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ।

आयोजनाको ड्राइ सिजनमा पिक इनर्जी २६ करोड ५३ लाख १९ हजार ९ सय ४२ किलोवाट विद्युत् उत्पादन हुन्छ। ड्राइ सिजनको नन् पिकमा १८ करोड ८ लाख ९६ हजार २ सय ९० किलोवाट विद्युत् उत्पादन हुनेछ। यसरी ड्राइ सिजनमा कुल ४४ करोड ६२ लाख १६ हजार २ सय ३२ किलोवाट विद्युत् उत्पादन हुनेछ। वेट सिजनमा १ अर्ब ३ करोड ३६ लाख ६१ हजार ७० सय ७ किलोवाट विद्युत् उत्पादन हुने छ।

बिजुली उत्पादनबाट सरकारले बर्सेनि ९ अर्ब २८ करोड २ लाख ३० हजार ४ सय १६ रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान गरिएको छ।

कम्पनीले उत्पादनपछि ड्राइ पिक सिजनमा १०.५५ रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्नेछ। ड्राइसिजनको नन् पिक इनर्जीलाई ८.४० रुपैयाँमा बिक्री गर्ने योजना बनाएको छ। वेट सिजनमा ४.८० रुपैयाँमा ऊर्जा बिक्री हुनेछ ।

पिकिङ रन अफ रिभर प्रकारको यो जलविद्युत् आयोजनाको पिकिङ क्यापासिटि ६ घण्टा रहेको छ।

यो आयोजनाका लागि सन् २००७ मा सर्वेक्षण लाइसेन्स दिइएको थियो। यसमा सन् २०१२ मा वातावरणीय अध्ययन स्वीकृत भएको थियो। त्यसपछि २८५ मेगावाट स्वीकृत भएर त्यसको आधारमा विद्युत् विकास विभागलाई विद्युत् उत्पादन लाइसेन्सका लागि निवेदनको आधारमा २०७५ जेठ २६ गते लाइसेन्स प्राप्त गरेको थियो।

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand