काठमाडौं । नेपालमा देशकै तेस्रो ठूलो विद्युत सबस्टेसन सञ्चालनमा आएको छ ।
देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माण सम्पन्न भएको ४०० केभी हेटौंडा सबस्टेसन जेठ २५ गते शुक्रवारदेखि सञ्चालनमा आएको हो ।
ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित यो स्वचालित सबस्टेसन हो ।
मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हुन् ।
हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौंडा सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताएका छन् ।
हेटौंडा सवस्टेसनलाई आवश्कता अनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरि निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले बताएका छन् ।
हेटौडा ४०० केभी सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता गरिएको थियो । ४००, २२० र १३२ केभी हेटौंडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।
#४०० केभी #सवस्टेशन #हेटौडा
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal