काठमाडौं । विश्व बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर गर्न लागिएको १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना अनिश्चित बन्दै गएको छ ।
अरुण नदी करिडोरका सबै आयोजनामा भारतले दाबी गरेपछि विश्व बैंकले फाइनान्सियल क्लोजरको मिति एक महिनापछि गर्ने जानकारी नेपाललाई गराएको छ ।
विश्व बैंकसँग जुन (असार) मा लगानीका लागि सम्झौताबारे सैद्दान्तिक समझदारी भएको थियो । तर भारतले आयोजना विकासको जिम्मा आफूले पाउनुपर्ने दाबी गरेपछि फाइनान्सियल क्लोजर प्रभावित भएको हो । भारतले विश्व बैंकसमक्ष अरुण नदी करिडोरका आयोजनाहरु आफ्ना भएको दाबी गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहितको टोली ३ महिना पहिले विश्व बैंकको मुख्यालय पुगेर लगानीको टुंगो लगाएर फर्किएका थिए । नेपालको छिमेकी मुलुक भएकाले भारतसँग सल्लाह गरेर मात्रै फाइनान्सियल क्लोजर गर्ने योजनामा विश्व बैंकको मनस्थिती पुगेको छ ।
भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन)ले यो आयोजना सयुक्त रुपमा निर्माण गर्ने प्रस्ताव गरेको छ। एसजेभीएन भारतको केन्द्र सरकार र हिमाचल प्रदेशको सयुक्त कम्पनी हो ।
यो आयोजनामा विश्व बैंकले ८५० मिलियन अमेरिकी डलर (करिब १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ) सहुलियत ऋण लगानी गर्न खोजेको छ ।
विश्व बैंकको नेतृत्वमा कन्सोर्टियम फम बनाएर एसियाली विकास बैंक, साउदी फण्ड, ओपेकलगायतका फण्डहरुबाट विदेशी लगानी ल्याउने योजना बनेको थियो ।
यो आयोजनाका निर्माण गर्न २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएपनि लगानी जुटाएर काम गर्न ढिलाइ हुँदै जाँदा अब यो आयोजना बनाउन २ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान प्रवर्द्धक कम्पनीले गरेको छ ।
यो आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), नागरिक लगानी कोष, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले स्वदेशी लगानीको कन्सोर्टियम फर्म बनाएर ५३ अर्ब रुपैयाँ लगानी गर्ने सहमति जनाइसकेका छन् ।
संखुवासभाको अरुण नदीमा पहिचान भएको प्रस्तावित जलविद्युत् आयोजना दैनिक ६ घण्टासम्म पिकिङ क्षमता भएको अर्ध-जलाशय प्रकृतिको हो। Clickmandu
#अपर अरुण #जलविद्युत आयोजना #भारत #विश्व बैंक
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal