September 9, 2024

७०० मेगावाट निर्यातबाटै मासिक सवा ४ अर्ब आम्दानी गर्दै नेपाल, २५१ मेगावाट थपिँदा कति पुग्ला ?

११ भदौ, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिना साउनमा ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको हो ।

यस अनुसार साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँ बराबरको विद्युत् भारतमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट २ अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ ।

वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति बढ्नुका साथै नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नसमेत सकारात्मक योगदान पुगेको छ ।

प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्विपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो । यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाहरुबाट उत्पादित १०९.६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।

१० जलविद्युत आयोजनाबाट उत्पदित १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिने प्राधिकरणले जनाएको छ ।

हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिश्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रुपमा ६९०.५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

अहिले थप भएका आयोजनाको विद्युत निर्यात सुरु भएपछि भने नेपालले मासिक ५ देखि ६ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात गर्न सक्नेछ ।

 

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand