५ मंसिर, काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले चालु आव पहिलो चौमासिकमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढी–पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए ।
७०० मेगावाट उत्पादन बन्द
सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी संरचनामा पहिरोले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द छ । अन्य साना आयोजनामा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन । काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाका करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुन पुगेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘यसबाट चालु आवमा राखिएको करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यात लक्ष्यसमेत प्रभावित हुने देखिएको छ,’ उनले भने ।
कुन महिना कति विद्युत निर्यात ?
साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत् निर्यात गरिएको हो । साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसा थियो ।
त्यस्तै भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युतको औसत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा थियो ।
असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजारको विद्युत् निर्यात गरिएको छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ८ रुपैयाँ ०८ पैसा छ ।
त्यसैगरी कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट विद्युत् निर्यात गरिएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ७ रुपैयाँ ८४ पैसा रहेको छ ।
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal