November 15, 2024

भारतले नेपाललाई दिउँसो मात्रै विद्युत दिने, १० घण्टा लोडसेडिङको सम्भावना !

काठमाडौं । भारतले १/१ वर्षका लागि गर्दै आएको विद्युत आयात सम्बन्धी सम्झौता यो वर्ष भने ३ महिनाकै लागि मात्रै नविकरण गरेको छ । साविकमा दिदै आएको विद्युतको परिमाण र अवधि घटाएको भारतले त्यो भन्दा डर लाग्ने अर्को सर्त पनि राखेको छ । त्यो भनेको उसले दिउँसो घाम लागिरहेको समयमा मात्रै विद्युत दिने छ । अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र ।

नेपालमा भने विद्युतको उच्चतम मात्र ६ बजेदेखि ७/८ बजेसम्म नै रहन्छ । त्यसो भए बाँकी समयमा विद्युत माग कसरी व्यवस्थापन हुन्छ त ? नेपालमा अहिले सुख्खा मौसम चलिरहेकोले नदी प्रवाहमा आधारित विद्युत आयोजनाबाट एक तिहाइ मात्र विद्युत उत्पादन भइरहेको छ । जलाशय र अर्धजलाशययुक्त आयोजनाको क्षमता त्यति धेरै छैन । यसै कारण आइतवार देखि नेपालमा ६ बजेपछि लोडसेडिङ गर्नुपर्ने सम्भावना बढेको छ ।

उसो त औद्योगिक क्षेत्रमा अहिलेपनि लोडसेडिङ भएको गुनासो उद्योगीहरुले गरिरहेका छन् । प्राधिकरणले सर्वसधारणलाई दिने विद्युत नेपालभित्रैबाट जोहो गर्नुपरेको खण्‍डमा थप अन्य व्यापारिक प्रयोजनमा दिइएको विद्युत पनि कटौती हुने सम्भावना छ ।

प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ६५० मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउन अनुमति मागेपनि भारतले ढल्केबर मुजफ्फरपुरबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट ल्याउने अनुमति दिएको छ ।

६०० मेगावाट आयात गर्न नसके नेपालमा १० घण्टा लोडसेडिङ हुन सक्ने ऊर्जा अधिकारी बताउँछन् । प्राधिकरणका अधिकारीहरुका अनुसार अबको करिब दुई महिना कुल विद्युत माग करिब २ हजार मेगावाट पुग्नेछ । जबकि आन्तरिक उत्पादन क्षमता भने करिब १४ सय मेगावाट मात्रै हुनेछ । ६ सय मेगावाट अपुग हुने अवस्थामा प्राधिकरणले भारतबाट आयात गरी माग सन्तुलन गर्दै आएको थियो ।

कुनै पावर ट्रेडिङ कम्पनीसँग पावर पर्चेज एग्रिमेन्ट गरेर नेपालले बिजुली आयात गर्न सकिने विकल्प भएपनि  नेपाल र भारतका ट्रेडिङ कम्पनीबीच यस्ता एग्रिमेन्ट नभएको हुँदा विद्युत आपूर्तिमा समस्या आउनसक्ने ऊर्जा अधिकारीको भनाइ छ ।

स्रोत : कान्तिपुर

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand