September 9, 2024

सुनकोशी-मरिणा डाइभर्सन आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’, लक्ष्यभन्दा १ वर्ष अघि नै सकियो काम

काठमाडौं । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कान ढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन् ।

प्रधानमन्त्री दाहालले टिबिएमको स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबिएम मेसिन सुनकोसी नदी किनार कान ढुङ्ग्रीबाट बाहिर निस्किएको थियो ।

राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोसी–७ कान ढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको लम्बाइ १३.३ किलोमिटर छ ।

लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थ्रु गर्न सफल भएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।

खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थ्रु भएको छ । एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । विसं २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम सुरु गरेको थियो ।

उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिन खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने हो। आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको  छ ।

# # # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand