September 9, 2024

यो वर्ष बिजुलीको माग २० वर्षयताकै उच्च, सबैभन्दा धेरै भारतमा

७ साउन, काठमाडौं । विश्वभर बिजुलीको माग पछिल्लो २० वर्षयताकै अत्यधिक हुने प्रक्षेपण सार्वजनिक भएको छ । जलवायु परिवर्तनका कारण बढेको तापक्रममा बिजुलीको माग बढ्ने प्रक्षेपण गरिएको हो ।

गर्मी बढेसँगै विश्वभर एयर कन्डिसन (एसी)को माग पनि अत्यधिक बढेको छ । त्यसलाई चलाउन बिजुली चाहिने भएकाले बिजुलीको माग २० वर्षयताकै बढी हुने अनुमान गरिएको हो ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा बिजुलीको बढ्दो मागले विगत २० वर्षको रेकर्ड यस वर्ष तोडिने उल्लेख छ ।

साथै बिजुलीको बढ्दो मागको ट्रेण्ड सन् २०२५ सम्म जारी रहने पनि बताइएको छ । बढ्दो गर्मीसँगै बिजुलीको माग पनि बढेका कारण कोइला र नवीकरणीय ऊर्जामार्फत् विद्युत् उत्पादन गर्ने क्रम पनि बढ्ने अनुमान गरिएको छ ।

यस वर्ष विश्वको तापक्रमले अहिलेसम्म भएको रेकर्डलाई तोडेको थियो । नेपालसहित विभिन्न देशहरुले अप्रत्यासित तातो हावाको लहर झेल्नु परेको थियो । त्यससँगै विद्युत ग्रिडहरुलाई अविछिन्न बिजुली आपूर्ति गर्न दबाब परेको थियो ।

एआईले पनि बढाएको छ बिजुलीको माग

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का इनर्जी मार्केट्स एण्ड सिक्योरिटी निर्देशक केसुके सादामोरीले भनेका छन्, ‘यस वर्ष र आगामी वर्ष विश्वभर बिजुलीको मागमा बढोत्तरी विगत दुई दशकयताकै सबैभन्दा बढी हुने छ । यसले हाम्रो अर्थव्यवस्थामा बिजुलीको बढ्दो भूमिका र अत्यधिक तातो लहरको असरलाई देखाउँछ ।’

आईईएका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रयोगका कारण पनि निरन्तर बिजुली आपूर्तिको माग बढिरहेको छ । आईईएका अनुसार सन् २०२४ मा विश्वभर बिजुलीको माग सरदर चार प्रतिशतले बढ्ने अनुमान छ । यो सन् २००७ यताकै सबैभन्दा बढी हो ।

सन् २०२५ मा पनि यही अवस्था रहने अनुमान गरिएको छ । यसको तुलनामा सन् २०२३ मा विश्वभर बिजुलीको माग केबल २.५ प्रतिशत वृद्धि भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्यांक छ ।

एजेन्सीको तथ्यांक अनुसार यसै वर्ष बिजुलीको माग सबैभन्दा धेरै भारतमा हुने अनुमान छ । सन् २०२४ मै भारतमा ८ प्रतिशतले बिजुलीको माग बढ्ने अनुमानित तथ्यांक छ ।

चीनमा भारतको भन्दा दुई प्रतिशत कम अर्थात् ६ प्रतिशतले बिजुलीको माग बढ्ने अनुमान छ । चीनमा सन् २०२३ मा ७ प्रतिशतले बिजुलीको माग बढेको थियो ।यसैगरी अमेरिकामा यस वर्ष ३ प्रतिशतले बिजुलीको माग बढ्ने अनुमान छ ।

युरोपेली युनियनमा विगत दुई वर्षदेखि बिजुलीको माग घटिरहेको थियो । तर यस वर्ष बिजुलीको माग १.७ प्रतिशतले बढ्ने एजेन्सीको तथ्यांकमा उल्लेख छ । तर यो वृद्धि जारी रहन्छ कि रहँदैन भन्ने निश्चित छैन ।

नविकरणीय ऊर्जाको उत्पादन बढ्ने
आईईएका अनुसार आगामी वर्षमा अक्षय ऊर्जा (नवीकरणीय ऊर्जा) को उत्पादन पनि ह्वात्तै बढ्ने अनुमान छ । सन् २०२५ मा विश्वको आपूर्तिमा यसको हिस्सेदारी ३५ प्रतिशत हुने अनुमान छ । जबकी सन् २०२३ मा केबल यसको हिस्सा ५ प्रतिशत मात्र थियो । नवीकरणीय ऊर्जामा शौर्य र वायु ऊर्जाको स्थान सबैभन्दा बढी हुनेछ ।

यसैगरी सन् २०२५ मा अक्षय ऊर्जाको कूल उत्पादनले कोइलामा आधारित बिजुलीलाई पछि पार्ने अनुमान छ । तर सन् २०२४ मा भने कोइलाकै दबदबा कायम रहने छ । एजेन्सीको सहयोगमा ।

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand