December 2, 2024

दुई महिनामै भित्रिए झण्डै ४ अर्बका विद्युतीय गाडी, सरकारलाई साढे दुई अर्ब रुपैयाँ राजस्व प्राप्त

७ असोज, काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो दुई महिनामा झण्डै ४ अर्ब रुपैयाँ मूल्य बराबरका विद्युतीय गाडी (ईभी) आयात भएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार दुई महिनामा ३ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरका  १ हजार ६ सय २ युनिट ईभी (कार, जिप र भ्यान) को आयात भएको छ । यसबाट सरकारले २ अर्ब ३१ करोड २२ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

आयात भएका ईभी मध्ये ४ सय ७५ युनिट भारतबाट र १ हजार १ सय २५ युनिट चीनबाट आयात भएका छन् । त्यस्तै १/१ युनिट गाडी अमेरिका र जर्मनीबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो तथ्याङ्कले नेपालमा आयात हुने ईभीमा ७० प्रतिशतभन्दा धेरै हिस्सा चीनको रहेको देखाउँछ । त्यसपछि २९ प्रतिशत हिस्सा भारतको र १ प्रतिशतभन्दा कम हिस्सा मात्रै अन्य देशहरुको रहेको छ ।

चालु आवको पहिलो दुई महिनामा १ हजार ६ सय २ युनिट ईभी आयात भएकोमा गत आवको सोही अवधिमा भने ८ सय ९८ युनिट मात्रै ईभी आयात भएका थिए । गत वर्षको तुलनामा यो वर्ष झण्डै दोब्बर स‌ंख्यामा ईभी आयात भएका हुन् ।

नाडा अटो शो र चाडपर्वले गर्दा भदौमा विद्युतीय गाडीको आयात बढेको अटो व्यवसायीहरुले बताएका छन् ।

चालु आवको साउनमा ३ सय ८१ र भदौमा १ हजार २ सय २१ युनिट ईभी आयात भएका छन् । गत आवको साउनमा १ सय १० र भदौमा ७ सय ८८ युनिट ईभी आयात भएका थिए ।

चालु आव दुई महिनामा ५० किलोवाटसम्म मोटर क्षमता भएका ५ सय ६० र ५१ देखि १०० किलोवाट मोटर क्षमता भएका ९ सय ३८ युनिट गाडी आयात भएका छन् । यस्तै १०१ देखि २०० किलोवाट मोटर क्षमता भएका ९९ युनिट, २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका ३ र ३०० किलोवाटभन्दा माथि मोटर क्षमता भएको २ युनिट गाडी आयात भएका छन् ।

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand