७ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सौर्य विद्युत् उत्पादनका लागि आह्वान गरेको बोलपत्रमा सहभागीहरूले प्रतियुनिट अधिकतम ६ रुपैयाँसम्म प्रस्ताव गरेका छन् ।
कात्तिक ५ गते खोलेको आर्थिक प्रस्तावअनुसार ८०० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि ४.९९ रुपैयाँदेखि ६ रुपैयाँसम्म प्रस्ताव गरेका हुन् ।
विद्युतीय बोलपत्र पेश गरेकामध्ये ७० कम्पनीहरूले प्रतियुनिट विद्युत् खरिद बिक्री सम्झौताका लागि उक्त दर प्रस्ताव गरेका छन् । प्रस्तावित प्रतिस्पर्धी दरको मूल्यांकन तिहारअघि नै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।
प्राधिकरणले सौर्य विद्युत उत्पादनका लागि खुलाएको टेण्डरमा आवेदन हालेका मध्ये १२७ कम्पनी प्राविधिक रुपमा योग्य ठहर भएका थिए । प्राधिकरणले ८०० मेगावाट सोलार विद्युत उत्पादनको लागि प्रस्ताव आह्वान गरेको हो । तर २ हजार मेगावाट भन्दा बढीको लागि आवेदन परेको थियो ।
प्राधिकरणको विद्युत ब्यापार विभागले २०८० चैत्र २१ गते ४५ दिनको समयसीमा राखेर ८०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्नको लागि इच्छुक विकासकर्ताबाट विद्युतीय बोलपत्रमार्फत आह्वान गरेको थियो ।
प्राधिकरणले आफ्नो नजिकका सबस्टेसनमा जोड्न मिल्ने गरी विकासकर्ताबाट प्रस्ताव आह्वान गरेको थियो । तर विकासकर्ताको सहभागिता न्यून भएको भन्दै प्राधिकरणले ३ पटक म्याद थपेको थियो । पहिलो पटक असार ४ गतेसम्मका लागि, दोस्रो पटक असार २५ गतेसम्मका लागि र तेस्रो पटक साउन ३० गतेसम्म आवेदन दिने म्याद थपेको थियो । ऊर्जा सञ्चारबाट
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal